Map of Nepal

Introduction

विद्यालयको परिचय

श्री त्रिवेणी माध्यमिक विद्यालय वि.स. २०३९ साल चैत ८ गते स्थानीय समाजसेवी, शिक्षाप्रेमी तथा बुद्धिजीविहरुको पहलमा हालको संघीय नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुम (पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. २ सिम्रुतुमा स्थापना भएको थियो । तत्कालिन रुँघा, खारा, मुरु र भलाक्चा गाऊँ पञ्चायतको केन्द्रमा रहेको यस विद्यालय रुँघा, खारा र मुरु खोलाको संगम स्थल (त्रिवेणी) मा अवस्थित छ । राप्ती राजमार्गको छेवैमा अवस्थित यो विद्यालय आवागमन र पहुँचको हिसावले पनि सुगम छ । त्यतिवेलाको सन्दर्भमा तात्कालिन रुकुम जिल्लामा विद्यालय संख्या न्यून थियो । जिल्लाभरमै जम्माजम्मी ५÷६ वटा मात्र माध्यमिक विद्यालय थिए । यस विद्यालयको स्थापनाले स्थानीय रुँघा, खारा, मुरु, भलाक्चा र पेउघा गा.वि.स लगायतका छिमकी गाउँ मात्रै नभएर रोल्पा तथा सल्यानका बालबालिकाका लागि समेत माध्यमिक शिक्षा प्राप्तिको अवसर उपलब्ध गराएको थियो ।

यस विद्यालयको ऐतिहासिक पृष्ठभूमीलाई हेर्दा त्यसवेला दिव्य चक्षु निमावि रुँघा, पिपलनाथ प्रावि विमैचा, अन्धनासक प्रावि खुम्चेरी, ज्ञानोदय प्रावि लहुँ, जनकल्याण निमावि भलाक्चा विद्यालय अस्तित्वमा थिए । त्यसबाहेक छिमेकी जिल्ला रोल्पाका पाँछावाङ, ईरिवाङ, पाखापानी गाउँपञ्चायतका र सल्यान जिल्लाका बाफूखोला, ढाकाडम, दार्माकोट गाउँपञ्चायतमा समेत सीमित संख्यामा प्राथमिक र निम्न माध्यमिक विद्यालयहरु अस्तित्वमा थिए । तर तीन जिल्लाको एघार बा¥ह गाउँपञ्चायतमा एउटा पनि माध्यमिक विद्यालय अस्तित्वमा थिएन । स्थानीय रुपमा उपलब्ध प्राथमिक अथवा निम्नमाध्यमिक तह उत्र्तीण गरेपछि त्यस भेगका अधिकांश बालबालिकाहरुले पढाइ वीचैमा छोड्नुपर्ने बाध्यता थियो । त्यसभेगका सीमित सक्षम वर्गले आफ्ना बालबालिकालाई सदरमुकाम मुसीकोट अथवा छिमेकी जिल्ला सल्यानको सदरमुकाम खलंगा, प्यूठान अथवा दाङसम्म झार्ने गर्थे भने जनसाधारणहरु भने वीचैमा पढाइ छोड्नुपर्ने बाध्यता थियो । यो सन्दर्भमा स्थानीय समाजसेवी एवम् तत्कालिन रुघाँ गाउँ पञ्चायतका प्रधानपञ्च हिराचन्द्र मल्ल, खारा गाउँ पञ्चायतका प्रधानपञ्च पदमसिंह खड्का, रुकुम जिल्ला पञ्चायत सभापति तारा प्रसाद घर्ति मगर, भलाक्चा गाउँ पञ्चायतका उपप्रधान गोबद्र्धन खड्का, विर बहादुर पुन, गोपालसिंह पुन लगायत तात्कालिन प्रधानाध्यापक विद्याधर थापाको विशेष पहलमा वि.सं. २०३९ सालमा माध्यमिक तह कक्षा ८–१० सञ्चालन हुने गरी यो विद्यालय स्थापना भएको थियो । यस विद्यालयको स्थापनाले तत्कालिन एकदर्जन छिमेकी गाउँपञ्चायतका निमावि तह पूरा गरी पढाइ वीचैमा छोड्नुपर्ने बाध्यतामा रहेका हजारौ बालबालिकामा माध्यमिक तहको शिक्षा प्राप्तिको अवसर सुनिश्चित गरेको थियो ।

माध्यमिक तह सञ्चालनको अस्थायी अनुमति प्राप्त गरेको यस विद्यालयले त्यस भेगका बालबालिकाको गुणस्तरीय शिक्षाको दायित्व वहन गर्दै गयो । स्थापनाकालमा स्थानीय जनताले चन्दा संकलन गरेर पारिश्रमिक बेहोर्नेगरी दुईजना शिक्षकहरु नियुक्त गरिएका थिए । प्यूठानका संस्थापक प्रधानाध्यापक विद्याधर थापा र शिक्षक विजय कुमार पण्डितको अगुवाइमा विद्यालयको पठनपाठन शुरु भयो । शुरुवाती दिनमा कक्षा आठमा करीव ३० जना विद्यार्थीबाट कक्षा हुरु गरिएको थियो । पछि विद्यार्थी संख्या तिव्र रुपमा बढ्न थाल्यो र विद्यार्थी संख्या बढे बमोजिम स्थानीय जनताको भरथेगमा शिक्षकहरु पनि थपिदै गए ।

यसैवीच शिक्षा ऐन, २०२८ को पाँचौ संशोधन र शिक्षा नियमावली २०४९ को प्रावधान अनुसार मा.वि. कक्षा ६–१० वा कक्षा ९–१० मात्र हुनु पर्ने नीतिगत व्यवस्था भयो । त्यसपछि उक्त नीतिगत प्राबधानलाई अनुसरण गर्दै वि.सं. २०५० साल देखि यस विद्यालयमा कक्षा ६ र त्यसपछि कक्षा ७ गरी कक्षा ६–१० सञ्चालित मा.वि.को रुपमा विकसित भएको थियो । सँगसँगै वि.सं. २०५० सालमा नै तत्कालीन रुँघा गा.वि.स. वडा नं. २ सिम्रुतुमा रहेको बालविकास प्रा.वि. लाई यस विद्यालयमा गाभेर कक्षा १–१० सम्म पठन पाठन हुने विद्यालयको रुपमा विकास गरियो । यसरी स्थानीय आवश्यकताले कक्षा ८ देखि शुरु भएको यस विद्यालय कक्षा ९, १० हुँदै पुनः कक्षा ६ र ७ पछि जोड्दै र छिमेकी १ देखि ५ कक्षासम्म सञ्चालनमा आएको प्राथमिक विद्यालयलाई समेत जोड्दै एउटा पूर्ण माध्यमिक विद्यालयको रुपमा बि.स. २०५० सालदेखि सञ्चालनमा आएको थियो । तर स्थापनाको १३ बर्षपछि बि.सं. २०५२ सालमा मात्रै विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालनको अनुमति प्राप्त भएको थियो । यसै गरी बदलिदो समय सन्दर्भ अनुसार र स्थानीय जनसमुदाय र विद्यार्थीको माग, सुविधा र अबसरलाई मध्यनजर गरी विद्यालयले त्यतिवेलाको उच्च मावि (१०ं२) कक्षा पनि सञ्चालन गर्ने निर्णय गरियो । उच्चमावि सञ्चालनका लागि स्रोत साधन जुटाउने देखि आवश्यक पहलकदमी गर्न तात्कालिन व्यवस्थापन समितिका अध्यक्ष नवराज मल्ल, स्थानीय समाजसेवी एवम् हाल त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कु प्रसाद घर्ति मगर र स्थानीय समाजसेवी ओम प्रकाश विसी लगायतको नेतृत्वमा तयारी समिति बनेको थियो । उक्त समितिको नेतृत्व र अथक मिहिनेतले रुँधा गा.वि.स. भित्रमा सरकारी जागिर खाने सबै कर्मचारीलाई एकमहिनाको तलव सहयोगका लागि आग्रह गरियो । रुँघा गाविसले ४ लाख र खारा गाविसको ६० हजार सहयोगका साथै आमजनताको व्यक्तिगत चन्दा समेतगरी आवश्यक स्रोत जुटाएर वि.सं. २०६४ साल देखि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषदवाट सम्बन्धन प्राप्त गरी मानविकी, शिक्षा र व्यवस्थापन संकायका विषयहरु पढाई हुने गरी उच्च माध्यमिक तह (कक्षा ११ र १२) सञ्चालन गरियो ।

स्थानीय जनताको प्राविधिक तथा व्यवसायिक शिक्षाको बढ्दो मागलाई ध्यान दिँदै यस विद्यालयले २०७३ सालमा व्यवस्थापन समितिका अध्यक्ष मोहन किशोर ओली र प्रधानाध्यापक डिल्ली बहादुर मल्लको नेतृत्व र त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कु प्रसाद घर्तीमगर र वडा नम्बर २ का अध्यक्ष शोभाराम बोहोराको विशेष सहयोगमा कृषि विषयमा १८ महिने कार्यक्रम सञ्चालन गर्ने निर्णय भयो । आवश्यक दस्तावेजसहित मापदण्ड पूरा गरी यस विद्यालयमा वि.सं. २०७४ साल देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी, भक्तपुरवाट सम्बन्धन प्राप्त गरी १८ महिने कृषि वे.टि.ए. (वालि विज्ञान) कार्यक्रम सञ्चालन भयो । यस विद्यालयले प्राविधिक तथा व्यवसायिक शिक्षालाई निरन्तरता दिँदै शैक्षिक सत्र २०७५ देखि यस विद्यालयमा प्राविधिक शिक्षा तर्फ ३ वर्षे कृषि डिप्लोमा (वालि विज्ञान कार्यक्रम समेत सञ्चालन भएको छ । त्रिवेणी गाउँपालिकाको केन्द्रमा रहेको यो विद्यालय आफ्नो आफ्नो साँढे तीन दशकको शैक्षिक विरासतलाई थप विकसित बनाउँदै आज यस क्षेत्रको अग्रणी विद्यालयको रुपमा आफ्नो पहिचान बनाउन समेत सफल भएको छ ।